केदारस्युँ गाउँपालिकाले एकल महिलाहरूको आत्मनिर्भरता र जीविकोपार्जनलाई सहज बनाउन ‘उपाध्यक्ष कोसेली कार्यक्रम’ अन्तर्गत सामूहिक आलु खेती कार्यक्रम सुरू गरेको छ। मंगलबार गाउँपालिका अध्यक्ष गणेश बोहरा र उपाध्यक्ष मनिसा धामी सहितको टोली भामचौर–काँडाचौर पुगेर २५ क्विन्टल आलुको बीउ वितरण गरेको छ।

समूहगत खेतीबाट आत्मनिर्भरता
धौलपुर एकल महिला समूह भामचौर–काँडाचौरले अर्गानिक आलु खेती गर्दै आत्मनिर्भर बन्ने लक्ष्य लिएको छ। समूहकी अध्यक्ष रुबसी बोहराले भनिन्, “गाउँपालिकाले दिएको २५ क्विन्टल आलुको बीउले हाम्रो जीवनयापनलाई सहज बनाउनेछ। मेहनत गरेर उत्पादन वृद्धि गर्दै आर्थिक रूपमा सक्षम बन्नेछौं।”
गाउँपालिका अध्यक्ष गणेश बोहराले यो क्षेत्रमा पहिलोपटक सामूहिक आलु खेतीको अभ्यास गर्न लागिएको जानकारी दिँदै भने, “कति उत्पादन हुन्छ र जीविकोपार्जनमा कति प्रभाव पार्छ भन्ने मूल्यांकन गरिनेछ। गाउँपालिकाले आवश्यक सहयोग गर्नेछ, तर मुख्य मिहिनेत एकल महिलाहरूले नै गर्नुपर्नेछ।”
३५ रोपनी जग्गामा आलु खेतीको योजना
गाउँपालिका उपाध्यक्ष मनिसा धामीका अनुसार कृषि पेशाबाट आत्मनिर्भर बन्न सकिन्छ, त्यसैले एकल महिलाहरूलाई जग्गा भाडामा लिएर भए पनि खेती गर्न प्रेरित गरिएको छ। उनले भनिन्, “यो हाम्रो नयाँ अभ्यास हो। सफल हुन्छ या हुँदैन, अहिले नै भन्न सकिन्न, तर यदि मिहिनेत गरियो भने राम्रो उत्पादन लिन सकिन्छ।”
हाल भामचौर र काँडाचौर क्षेत्रमा ३५ रोपनी जग्गामा आलु खेती गरिने योजना रहेको छ। उत्पादन बढेपछि बजारीकरणमा समेत गाउँपालिकाले सहयोग गर्ने बताइएको छ। साथै, आगामी दिनमा अन्य एकल महिला समूहलाई पनि कृषि क्षेत्रमा संलग्न गराउने योजना रहेको गाउँपालिकाले जनाएको छ।






