कैलाली । कैलालीको लम्कीचुवा चिसापानीदेखि माेहन्यालकाे राजकाँडासम्म केबलकार सञ्चालनका लागि निर्माण सुरु गरिएको छ । लम्की चुहाँ नगरपालिका वडा नं. ३ को चिसापानीदेखि मोहन्याल गाउँपालिका वडा नं ७ राजकाँडासम्म पुग्ने ३.१ किलोमिटर लामो हुनेछ ।

दस मिनेटको यात्रा दुरी रहने केबलुकारमा १५ वटा टावर र ३४ वटा गोन्डुला रहने गरी डिपिआर निर्माण भएको जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । उनका अनुसार केबलकारको यात्रामा कर्णाली नदी, जालपादेवी, कालभैरब, कालिकादेवी, कैलाश धामलगायतका धार्मिकस्थल, हात्ती ढुङ्गा लगायत पर्यटकीयस्थलको अवलोकन गर्न सकिनेछ ।
यस्तै केबुलकारको निर्माणसँगै चिसापानीमा ५० शय्या र राजकाँडामा एक सय शय्या क्षमताका होटेल र सभाहल निर्माण गरिने बताइएको छ । केबलकारको बटम स्टेसन कर्णाली चिसापानीमा रहने जनाइएको छ । कूल पाँच अर्ब रुपैयाँ लगानी हुने केबलकारको बटम स्टेसनमा केबलकार, होटल, क्यासिनो, ब्याक्वेट हल निर्माण हुनेछन् भने टप स्टेसनमा रिसोर्ट, मन्दिर, स्काई वक, वकिङ ट्रेल, रेस्टुरेन्ट तथा चिल्ड्रेन पार्कसहित अन्य पर्यटकीय तथा मनोरञ्जनात्मक पूर्वाधारहरु निर्माण हुनेछन् ।
कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको शनिबार परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले शिलान्यास गरेकी छिन् । केबलकारबाट हुने कुल आम्दानीको दुई प्रतिशत स्थानीय सरकारलाई उपलब्ध गराउने बताइएको छ । केवलकार सञ्चालनले सुदूरपश्चिमको पर्यटन विकाससँगै आर्थिक उपार्जनमा समेत सहयोग पुग्ने अपेक्षा लिइएको छ ।






