बझाङ : बुङ्गल नगरपालिका–६ बगालीबगरस्थित सडकखण्डमा अटोको ठक्करबाट एक ५ वर्षीय बालक घाइते भएका छन् ।बुधबार दिउँसो करिब १:५० बजेको समयमा बिजगाडाबाट कफलसेरीतर्फ जाँदै गरेको सुपप्र ०१००१ ह ४३६९ नम्बरको अटोले बाटोमा हिँडिरहेका दिपेश धामीलाई ठक्कर दिएको हो । धामी सोही ठाउँका अनिल धामीका छोरा हुन् ।
ठक्करबाट बालकको दाहिने खुट्टा र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । घाइते बालकलाई प्रारम्भिक उपचारका लागि खिरातडी स्वास्थ्य चौकी, बिजगाडा लगिएको थियो । प्राथमिक उपचारपछि थप उपचारका लागि उनलाई धनगढी रेफर गरिएको बताइएको छ ।
अटो २१ वर्षीय पदम पार्कीले चलाएका थिए । उनी ऐरावती क्षेत्रका बासिन्दा हुन् । अटो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।







