तलकोट गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना गरिएको छ। नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पताल र सेवा फाउन्डेशनको सहयोगमा स्थापना गरिएको सो केन्द्रको आज बुधबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो।
नेपाल नेत्र ज्योति संघ कैलाली उपसमिति तथा गेटा आँखा अस्पताल व्यवस्थापन समिति सदस्य यज्ञराज चौधरीले रिबन काटेर केन्द्रको उद्घाटन गर्नुभयो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले सुदूरपश्चिमका दुर्गम क्षेत्रहरूमा आँखा सेवा विस्तार हुनु महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो।
यस्तै कार्यक्रममा गाउँपालिका अध्यक्ष कलक बहादुर रोकायाले आँखा उपचार केन्द्र स्थापना हुनु गाउँपालिकाका लागि ऐतिहासिक कदम भएको भन्दै अब तलकोट गाउपालिकाका बासिन्दाले गाउँमै सहज रूपमा आँखा उपचार सेवा पाउने विश्वास व्यक्त गर्नुभयो।
उक्त कार्यक्रममा उपाध्यक्ष पार्वती कुवर भण्डारी, प्रमुख प्रशासकीय अधिकृत यादव भट्टराई, गेटा आँखा अस्पतालका निर्देशक सुरेन्द्रराज पन्त, बाह्य कार्यक्रम व्यवस्थापक रमेश चन्द्र, वडा अध्यक्षहरू, गाउँपालिकाका कर्मचारी तथा स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो।







