केदारस्युँ गाउँपालिकामा नेकपा (एमाले) कमजोर बन्दै गइरहेका बेला नेकपा (एकीकृत समाजवादी) पार्टीको प्रभाव भने दिनानुदिन बलियो बन्दै गएको छ। यसैक्रममा २०७९ सालको स्थानीय तह निर्वाचनमा केदारस्युँ गाउँपालिका–८ बाट वडाध्यक्ष पदमा नेकपा (एमाले)का उम्मेदवार रहेका मोतीराम खत्रीले एमाले परित्याग गर्दै औपचारिक रूपमा समाजवादी पार्टीमा प्रवेश गरेका छन्।
विगत लामो समयदेखि एमालेमा सक्रिय खत्रीले पार्टीको पछिल्लो कार्यशैली, नीतिगत विचलन र स्थानीय स्तरमा जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै पार्टी छाडेको बताएका छन्।

“समाजवादी पार्टी जनताको पक्षमा उभिएको, स्पष्ट विचार र सही नेतृत्वमा आधारित पार्टी भएकाले आगामी राजनीतिक यात्राको आधार यही पार्टी बनाउने निर्णय गरेको हुँ,” खत्रीले भने।
खत्रीसहित केदारस्युँ गाउँपालिकाबाट १०० जनाभन्दा बढी कार्यकर्ताले एमाले र नेपाली कांग्रेस पार्टी परित्याग गर्दै समाजवादी पार्टीमा प्रवेश गरेका छन्।
उनीहरूको पार्टी प्रवेशलाई आज भएको नेकपा (एकीकृत समाजवादी)को नवौं जिल्ला अधिवेशनको अवसर पारेर खादा र माला लगाई स्वागत गरिएको थियो।
समाजवादी पार्टीले केदारस्युँ क्षेत्रमा बलियो पकड बनाउँदै लैजाँदै गर्दा यसले आगामी चुनावी समीकरणमा समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ।







