मष्टा गाउँपालिका वडा नम्बर ७ मा सञ्चालित अल्लो भागो प्रवर्द्धन तालिमको अनुगमन गरिएको छ। गाउँपालिकाको आयोजनामा र साहारा नेपाल हेफर प्रोजेक्ट नेपालको साझेदारीमा तालिम सञ्चालन गरिएको हो।


स्थानीय स्तरमै प्रशस्त पाइने अल्लोको सदुपयोग गर्दै धागो उत्पादनका लागि तालिम दिइएको हो। स्वतः उम्रिने तर खेर जाने अल्लोको व्यावसायिक उपयोग गर्दै स्थानीय उत्पादनमा जोड दिनु तालिमको उद्देश्य रहेको छ।
तालिमपछि सहभागीहरूले अल्लोको धागोबाट कोट, स्टकोट, टोपी, झोला, जुत्ता लगायतका दैनिक उपभोग्य सामग्रीहरू बनाउन सक्ने भएका छन्। यसले स्थानीयस्तरमै रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ।

गाउँपालिका क्षेत्रका विभिन्न स्थानमा अल्लो प्रशस्त मात्रामा पाइने भएकाले यसको उत्पादन र प्रशोधनबाट स्थानीय आयआर्जनमा टेवा पुग्ने विश्वास लिइएको छ।
अनुगमन कार्यक्रममा गाउँपालिका अध्यक्ष ज्ञान बहादुर बोहरा सहित अन्य जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। तालिममा स्थानीयको उत्साहजनक सहभागिता देखिएको छ।






