केदारस्युँ गाउँपालिकाले १५औँ अन्तर्राष्ट्रिय एकल महिला दिवसको अवसरमा एकल महिलासँग प्रत्यक्ष संवाद कार्यक्रम सम्पन्न गरेको छ। सामाजिक समावेशिता र लैङ्गिक समानताका विषयमा केन्द्रित यो कार्यक्रम गाउँपालिका उपाध्यक्ष मनिषा धामीको अगुवाइमा भएको हो।
कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधिहरू र एकल महिलाबीच खुला रुपमा सामाजिक, आर्थिक र मनोवैज्ञानिक समस्याबारे गम्भीर छलफल भएको थियो। सहभागी महिलाहरूले नागरिकता नहुँदा भोग्नुपरेका समस्या, सामाजिक सुरक्षा भत्ता पहुँचमा कमी, स्वास्थ्य सेवा तथा रोजगारीको अभाव र निर्णय प्रक्रियामा सहभागिताको न्यूनता जस्ता विषय उठाउनु भएको थियो ।
कार्यक्रममा अनुभव सुनाउँदै एकल महिला पशुपति मल्लले भनिन्, “पालिका सरकार आएपछि महिलालाई लक्षित बजेट र सेवाहरू पाउँदा राहत मिलेको छ। अब त पालिका टिम आफैं गाउँटोलमा आएर हामीसँग संवाद गर्छन् र समस्या सुन्छन्।”
कार्यक्रममा बोल्दै उपाध्यक्ष धामीले आफैं पनि एकल महिलाको हैसियतबाट राजनीति थालेको स्मरण गर्दै। “एकल महिलालाई आत्मनिर्भर बनाउन पैसा मात्र हैन, सीप चाहिन्छ,” उनले जोड दिइन्। उनले सबै वडामा एकल महिला समूह गठन गरिसकिएको र ती समूहमार्फत सीपमूलक तालिम सञ्चालन भइसकेको जानकारी दिनुभयाे।

“अब सिकेको सीप प्रयोग गरी उत्पादन सुरु गर्नुहोस्, बजारको व्यवस्थापनको जिम्मा पालिकाले लिन्छ,” उपाध्यक्ष धामीले भन्नुभयाे। साथै, महिलाहरूले आफैंले भोगेका समस्याको पहिचान गरी योजना बनाएर पालिकामा ल्याउन आग्रह समेत गर्नुभयाे।
कार्यक्रम जिल्लामै पहिलोपटक स्थानीय तहले यस ढंगले आयोजना गरेको संवादका रूपमा लिइएको छ। एकल महिलाका विषयमा नेतृत्वदायी भूमिका खेलेको भन्दै उपाध्यक्ष धामीलाई जिल्लामै अग्रपंक्तिको आवाजका रूपमा हेरिएको छ।
८४ जना एकल महिला सहभागी रहेको उक्त कार्यक्रममा अन्य पालिकाका कर्मचारी, जनप्रतिनिधि र सञ्चारकर्मीहरूको समेत उपस्थिति थियो। कार्यक्रमको सहजीकरण पत्रकार जगत खड्का र जगदीश रोकायाले गर्नुभएको थियो।






