केदारस्युँ गाउँपालिका अध्यक्षले अहिलेको राजनीतिक परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गर्दै नेपालको कम्युनिष्ट आन्दोलन आन्तरिक कलह र सत्ता संघर्षमै अल्झिएको बताएका छन्। उनका अनुसार, जनताले विश्वास, आशा र मत दिएको नेतृत्वले त्यसको इमानदारीपूर्वक कदर गर्न नसक्दा आज कम्युनिष्ट आन्दोलन कमजोर देखिएको छ।
अध्यक्षले भने, “अब प्रश्न उठ्छ—हामीलाई वैकल्पिक कम्युनिष्ट पार्टी चाहिएको हो कि एकता? जनताले आन्तरिक झगडा होइन, इमानको राजनीति, स्थायित्व र व्यवहारिक समाधान चाहेका छन्।”
उनले लामो समयदेखि भइरहेको आन्तरिक विवादका कारण जनताले निराशा भोगिरहेको उल्लेख गर्दै जनताको वास्तविक चाहना न्याय, इमान र विकास मात्र भएको स्पष्ट पार्नु भएको छ।
उनले थपे, “हामीलाई झगडा होइन, इमानदारी चाहिन्छ। कुर्सीको राजनीति होइन, परिणाम चाहिन्छ। वाचा होइन, विकास र न्याय चाहिन्छ। यदि नेतृत्वले जनताको आवाज सुन्न सकेन भने, जनताकै बाटो नयाँ विकल्प बन्नेछ।”
उनका अनुसार, जनताले अझै पनि कम्युनिष्ट आन्दोलनमा विश्वास गर्ने आधारहरू जीवित राखेका छन् तर त्यसका लागि नेतृत्वले सबल एकता निर्माण गर्नुपर्ने वा नयाँ विकल्प प्रस्तुत गर्नुपर्ने समय आएको छ।







