राजनीतिक अस्थिरता र जनआन्दोलनबीच देश दिशाहीन बन्दै गएको प्रसङ्गमा केदारस्युँ गाउँपालिका अध्यक्ष गणेश बोहराले गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। उहाँका अनुसार, चार–चार पुस्ताले आफ्ना पालामा संघर्ष गरे पनि स्थायित्व अझै टाढै छ।
अध्यक्ष बोहराले भन्नुभयो, “हाम्रा बाजेहरूले राणा शासन विरुद्ध, बाबुहरूले पञ्चायत विरुद्ध, हामीले गणतन्त्रका लागि संघर्ष गर्यौं, आज हाम्रा छोराछोरी भ्रष्टाचार र स्थायित्वका लागि सडकमा छन्। तर परिणाम भने किन उस्तै रहन्छ? यो प्रश्न अब प्रत्येक नेपालीले गम्भीरतापूर्वक सोच्नैपर्छ।”
राजनीतिक नेतृत्वमा अनुहार फेरिए पनि सोच र प्रवृत्ति उस्तै रहनु देशका लागि ठूलो संकट भएको अध्यक्ष बोहराको भनाइ छ। उहाँले केपी ओलीको स्थानमा सुशीला कार्कीको आगमनलाई उदाहरण दिँदै, प्रारम्भिक आशा भए पनि व्यवहारमा जनमुखी शासन स्थापित हुन नसकेको बताउनुभयो।
विदेशी हस्तक्षेप बढ्दै गएको अवस्थाबारे अध्यक्ष बोहराले चेतावनी दिँदै भन्नुभयो, “जब नेतृत्व कमजोर हुन्छ, न्याय अविश्वसनीय हुन्छ र जनता निराश हुन्छन्, तब राष्ट्र आफ्नो निर्णय गर्ने अधिकार गुमाउँछ।”
नयाँ पुस्ताको आन्दोलनतर्फ संकेत गर्दै उहाँले थप्नुभयो, “जेन जि पुस्तामा ऊर्जा छ, चेतना छ, तर विवेक र संयममा कमी छ। विरोध गर्न सजिलो हुन्छ, विकल्प दिन कठिन हुन्छ। आजका आन्दोलनहरूमा युवा जोश त छ, तर योजनाबद्ध रणनीति छैन।”
पुराना दलहरूको योगदानलाई स्वीकार गर्दै उहाँले नयाँ पुस्तालाई आलोचना सम्मानपूर्वक गर्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “पुराना पुस्ताले संघर्ष गरेर इतिहास निर्माण गरेका छन्। तर आज आवश्यक छ अनुभव र ऊर्जा पूरक बन्ने।”
अध्यक्ष बोहराले देशलाई स्थायित्व र विकासको बाटोमा अघि बढाउन सबै पुस्ताले मिलेर जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार, “देशले बलिदान धेरै देखिसक्यो, अब परिपक्वता देख्न पाउनुपर्छ।”







