छबिसपाथिभेरा गाउँपालिकाका विभिन्न क्षेत्रमा लामो समयदेखि दूरसञ्चार सेवा सहज नहुँदा स्थानीयवासीले विशेषगरी बर्खायाममा ठूलो समस्या भोग्दै आएका थिए । वर्षात्का दिनमा सिग्नल हराउने, आकस्मिक अवस्थामा फोन नलाग्ने र सूचना सञ्चार ठप्प हुने समस्याले स्थानीय जनजीवनमा निकै बाधा पुर्याउँथ्यो ।
यही अवस्थालाई समाधान गर्न गाउँपालिकाले हालै नेपाल टेलिकमसँग सहकार्य गर्दै दूरसञ्चार पूर्वाधार विस्तारलाई तीव्रता दिएको छ । गाउँपालिकाको वडा नं. ४ झुतेरामामा नेपाल टेलिकमको नयाँ टावर जडान भई सेवा प्रवाह शुरु भएको छ, जसपछि आसपासका बस्तीमा फोन सेवा सहज बनेको स्थानीयले बताएका छन् ।
यस्तै वडा नं. ६ लेकगाउँ च्याकोटमा रहेको पुरानो टावर सारेर सिर्मातोलामा स्थानान्तरण गर्ने कामको ठेक्का पूरा भइसकेको छ । नयाँ स्थानमा टावर स्थापना भएपछि त्यहाँका बासिन्दाले अब स्थिर र भरपर्दो नेटवर्क सेवा पाउने भएका छन् ।
यस्तै वडा नं. २ मेल्लेखमा रहेको टावरमा समेत थप प्रविधि जडान गरिँदै छ, जसले मोबाइल नेटवर्कलाई अझ प्रभावकारी बनाउन सहयोग गर्नेछ । छबिसपाथिभेरा गाउँपालिका अध्यक्ष वसन्त चलाउनेका अनुसार, “दुरदराजका बस्तीमा संचार पहुँच नहुँदा जनताले निकै दु:ख पाउँदै आएका थिए । अब नयाँ टावर र प्रविधि थपिँदा फोन सेवा स्थायी रूपमा राम्रो हुनेछ ।”
नेपाल टेलिकमको सेवा सुधारसँगै गाउँपालिकाभर संचारमा आएको सहजताले सुरक्षा, शिक्षा, स्वास्थ्य, आपतकालीन सम्पर्क र दैनन्दिन जीवनमै ठूला परिवर्तन ल्याउने छ ।







