केदारस्यु गाउँपालिकामा कार्यरत कर्मचारीहरूले स्थानीय पञ्जीकाधिकारी तथा वडा सचिव अमर भण्डारीमाथि विभिन्न व्यक्तिहरूद्वारा गरिएको अनावश्यक दबाब, प्रभाव र कानूनी प्रक्रियामा हस्तक्षेप भएको भन्दै कडा आपत्ति जनाएका छन्। उक्त घटनाप्रति आपत्ति जनाउँदै कर्मचारीहरूले संयुक्त विज्ञप्ति जारी गरेका छन्।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६ तथा नियमावली २०७७ ले स्थानीय पञ्जीकाधिकारीलाई कानूनअनुसार काम गर्ने स्पष्ट अधिकार प्रदान गरे पनि पछिल्ला दिनहरूमा सरकारी तथा गैरसरकारी व्यक्तिहरूबाट भण्डारीको कार्यक्षेत्रमा अवैध हस्तक्षेप बढ्दै गएको कर्मचारीहरूको आरोप रहेको छ।
विज्ञप्तिमा भनिएको छ“राष्ट्रसेवक कर्मचारीको कानूनी कार्यमा दबाब, प्रभाव वा शोषण गर्ने कुनै पनि गतिविधि स्वीकार्य छैन। प्रचलित ऐन–कानून विपरीत काम गराउने प्रयासप्रति हामी घोर भर्त्सना गर्दछौँ।”
कर्मचारीहरूले यस्ता गतिविधि रोक्न सम्बन्धित निकाएकाे ध्यानाकर्षण गराउँदै, कर्मचारीको सेवा,शर्तको सुरक्षा तथा स्वतन्त्र वातावरणमा काम गर्ने अधिकार सुनिश्चित गर्न माग गरेका छन्। कर्मचारीहरूले चेतावनी दिँदै भनेका छन्
“यदि अवरोध र दवाब जारी रहने हो भने कार्यालयमार्फत दैनिक सेवा प्रवाह सञ्चालन गर्न कठिनाइ हुनेछ।” विज्ञप्ति राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग सिंहदरबार, जिल्ला प्रशासन कार्यालय चैनपुर, बझाङ्ग, केदारस्यु गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तथा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण सेवा इकाई, केदारस्यु गाउँपालिका लगायतका सम्बन्धित निकायहरूमा पत्राचार गरिएको छ।
कर्मचारीहरूले उत्पन्न समस्याको तत्काल समाधानका लागि सरकार तथा सम्बन्धित निकाय लाई आग्रह गरेका छन्।







